- Poems (कविताहरु)

आशा उज्यालोको

मेरो उज्यालो लिएर
Bam Baniya
साँझ गयो
म निश्तब्ध भएँ
प्रतिक्षाको फल
मलाइ सम्झाउन
एक पुल्ठो उज्यालो लिएर
गुधुली लिएर आयो
म रमाए
कौवा कराउनु हुन्न
हजूआमा पाइला गन्न थाल्नुहुन्छ
डाँडाको रातो घाम हेरेर
उहाँ विलौना गर्नु हुन्छ
उहाँ पनि उदाउदो घाम नै रोज्नुहुन्छ
विहानीकै गीत गाउनुहुन्छ
बिडम्बना
प्रकृति निस्पक्ष छ ।

उज्यालो लिएर साझ जान्छ
उज्यालै लिएर विहानी आउछ
फटाह त मान्छे हो
कारण खुलाइराख्नु पर्दैन
प्रकृतिको उल्टो घुम्छ मान्छे
रातमा उज्यालाका कयौ
विकल्पहरु छन्
जून
तारा
र जूनकीरीहरु……॥
source: from the writer's blog

Keshar Thulung
पूलिस र कविता

लेखुन या नलेखुन्
तर माहिर छन् पूलिसहरु
कविता पढ्न

पढेर कविता जिन्दगीको
सज्जन-दुर्जन जनताको
सिङ्गो राष्ट्रको
र आलोचना गर्छन् पूलिसहरु
विशुद्ध यो कविता
मार्मिक छ

भट्टी-डिस्कोको कविता
गाउँ-सहरको कविता
हिमाल, पहाड, तराईको कविता
लेक-वेशीको कविता
पढिसकेका पूलिसहरु भन्छन्
दु:ख, सुख, भोगाई
जेजस्तो रहे पनि
जे जसरी लेखिए पनि
कविताजस्तै मीठो
पढ्नु पर्छ जिन्दगी
कविताजस्तै मिलाएर
लेखनु पर्छ जिन्दगी

विश्व बुझिसकेका हामी सबै  
कविता पढिएला-नपढिएला 
तर जस्ले व्यक्तिलाई उत्साहित बनाउन सकोस 
जस्ले विपन्नवर्गलाई प्रेरणा दिन सकोस 
जस्ले समाजलाई परिवर्तन गर्न सकोस 
राष्ट्रलाई बहु-आयमिक दिशातिर 
निर्देशित गर्न सकोस 
यस्ता कविताहरु लेखिन्नु पर्छ बारम्बार
प्रिय कविज्यूहरु !
यस्ता कविताहरु पढिन्नु पर्छ बारम्बार
प्रिय कवि पाठकज्यूहरु !
source: from writer's blog

कुकुर हराएको सूचना-

निधारमुनी सुनौलो अर्ध-घेरा
Bhupal Rai

खैरोमा एक तिहाइ सेतो हुलिया
अन्दाजी पाँच महिनाको
चञ्चल स्वभाववाला
'राजा' नामको
एक प्रिय कुकुर
यही january 4 मा हराएको छ

पाउँनुहुनेहरुले
कृपया खबर गरिदिनु होला
दस थान नगद सहित
तयार छ
एक थान आकर्षक पुरस्कार

सूचना आकर्षक छ
यसकारण
कि शहरको सबभन्दा खानदानी अखबारमा
यो छापिएको छ
र यसकारण पनि
कि बिनासूचना, बिनाशुल्क
धेरै थोक हराउने
'राजामामा'को देशमा
अर्को एउटा 'राजा' हराएको छ

सूचनाको 'राजा' बाहेक
अरु हज्जारौँ राजाहरु
आमाको काखबाट
सूचनाहीन छन्
दिनदहाडै चोरिन्छन्
हुलियाबिहीन भएर
तथ्याङ्कका राजकुमार
र धूमिल आकासका परीहरु
सङ्कटग्रस्त छ
आमाको लाम्टा
बाबाको छाला
र दुवैबीच मेटिदैगरेको
लोपोन्मुख परिचय
बस,एकथान पुरस्कारभन्दा
धेरै गुणा सस्तो छ
अब धेरै थोक हराउनु

एकदिन
त्यसरिनै - बिनासूचना,बिनाहुलिया
बिनाशुल्क
यो देशबाट मात्र हैन
पुरै पृथ्विबाटै
एउटा दुर्लभ सम्पदा सहित
हराउने छ - 'राजामामा'

त्यो दिन
अर्को प्रिय 'राजा'को
शुल्क उठाइरहेको हुनेछ
सायद - सूचनाको दुनिया

र, अब हेर्नु छ
ठुलाठुला मानव-अधिकारवादि
र पशु-अधिकारकर्मिहरु मध्य
आँशु कसको आँखामा पहिले झर्नेछ ?

No comments:

Post a Comment